loader

Breaking News

सिक्किमका पुरातात्त्विक स्थल संरक्षणमा केन्द्रको लगातार सहयोग

Image
 

भारत सरकारले सिक्किमका तीनवटा केन्द्रिय संरक्षित स्मारकहरूको संरक्षण र विकासका लागि गरिएको कार्यको विवरण सार्वजनिक गरेको छ । पुरातत्व सर्वेक्षण विभाग (एएसआई) अन्तर्गत रहेका गेजिङ जिल्लाको दुब्दी गुम्बा र राब्देन्ची प्राचीन राजधानी अनि मगन जिल्लाको नोरबुगाङको राज्याभिषेक सिंहासनमा 2020  पछि विभिन्न संरचना मर्मत, पुनर्स्थापना र पूर्वाधार विकासका कामहरू गरिरएको मन्त्रालयले जनाएको छ। सिक्किमका राज्यसभा सांसद दोर्जी छिरिङ लेप्चाले सदनमा सम्बन्धित मन्त्रालयलाई राखेका प्रश्नको जबाफमा संस्कृति मन्त्रीको पक्षबाट दिइएको लिखित जबाफमा विकासका कार्यबारे उल्लेख गरिएको छ।

संस्कृति मन्त्रालयका अनुसार, यी स्थलहरूको संरक्षणसँगै स्थानीय समुदाय र पर्यटकहरूलाई संवेदनशील बनाउन विभिन्न अवसरहरूमा हेरिटेज वाक, वार्ता कार्यक्रम, विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, फोटो प्रदर्शनी र परामर्श बैठकहरू आयोजना गरिएका छन् । यस्ता कार्यक्रमहरू विश्व सम्पदा दिवस, विश्व पर्यटन दिवस, अन्तर्राष्ट्रिय योग दिवस, अन्तर्राष्ट्रिय अहिंसा दिवस लगायतका अवसरमा सञ्चालन गरिएका हुन् ।

वित्तीय वर्ष 2020-21 मा कोरोना महामारीका कारण कुनै ठूलो काम हुन सकेन । 2021-22 मा दुब्दी गुम्बाको बाटो मर्मत र विकास, राब्देन्चीमा बाटो स्तरोन्नति र संरचना मर्मत, नोरबुगाङको राज्याभिषेक सिंहासन पुनर्स्थापना जस्ता काममा लगभग 90 लाख रुपियाँ खर्च भएको थियो ।

2022-23  मा राब्देन्चीमा 4.96 लाख रुपियाँ खर्च गरेर फ्ल्याग मास्ट स्थापना गरिएको छ । यसैगरी 2023-24 मा राब्देन्चीमा संरचना मर्मत र संरक्षण, स्थलको मर्मतसम्भार तथा नोरबुगाङको सिंहासन विकासमा 45 लाख रुपियाँभन्दा बढी खर्च भएको छ । 2024-25 मा राब्देन्ची प्राचीन राजधानीमा संरचना मजबुतीकरण, पुनर्स्थापना र स्तरोन्नतिमा 49.54 लाख रुपियाँ विनियोजन गरिएको छ ।

यससँगै, 2020 मा गान्तोकस्थित सिक्किम विज्ञान केन्द्रमा राष्ट्रिय विज्ञान सङ्ग्रहालय परिषद्  कोलकाताको सहयोगमा इनोभेशन हब स्थापना गरिएको छ । यसको सञ्चालनका लागि 2021 देखि 2025 को जून महिनासम्ममा जम्मा 21.97 लाख रुपियाँ अनुदान प्रदान गरिएको सांस्कृति मन्त्रालयले जानकारी दिएको छ।


Leave a Comment